महेन्द्रनगर । पोखरामा जारी केपी ओली टी २० कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन सुदूरपश्चिमको टोली शनिबार पोखरा प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले शनिबार राजु रिजाज कप्तानीको १४ सदस्यीय टोलीलाई विदाई गरेको हो ।
नेपाल कृकेट संघका केन्द्रिय सदस्य धिरेन्द्र साउँदको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विदाई गरिएको छ । कार्यक्रममा परशुराम नगरपालिकाका मेयर भरत जोशी,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी,उपाध्यक्ष,
सचिव लक्ष्मण भट्ट, प्रदेश सदस्य रमेश चन्द, डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेती लगायतका सहभागी भएका छन् । धनगढीको मायमेट्रो अस्पतालले खेलाडीलाई जर्सी प्रायोजन गरेको छ ।
प्रादेशिक क्रिकेट संघका सचिव भट्टका अनुसार १४ सदस्यीय टोलीमा नारायण जोशी उप कप्तान र खडक बोहरा, वसन्त सिंह कार्की,वसन्त खत्री,आयुब चन्द, किरण कुमार ठगुन्ना, गजेन्द्र बोहरा, विकास आग्री,सुरज तिरूवा,अभिषेक पाल,नरेन्द्र साउँद ,कैलाश ऐर र भोजराज भट्ट, भरत चन्द, विरेन्द्र बम,सुशील रावल,खगेन्द्र जोशी सहभागी छन् । उनीहरुमध्ये भरत चन्द, विरेन्द्र बम,सुशील रावल,खगेन्द्र जोशी वैकल्पिक खेलाडी हुन् ।
सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह ‘सी’ मा रहेको छ । समूह ‘सी’ मा सुदूरपश्चिमसंगै नेपाल पुलिस क्लब र मधेस प्रदेश रहेका छन् । सुदूरपश्चिमले मंसिर ११ गते मधेस प्रदेश र १२ गते नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने प्रादेशिक क्रिकेट संघका सचिव भट्टले जानकारी दिएका छन् ।