महेन्द्रनगर । अर्को महिना माघको दोस्रो सातादेखि महेन्द्रनगरस्थित खुला मञ्चमा तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले माघ १४ देखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यस अघिका दुई प्रतियोगिता कैलालीको धनगढीमा गरिएका हुन् । अहिले तेस्रो प्रतियोगिता महेन्द्रनगरमा आयोजनाका लागि तयारी थालिएको हो । परिषद्ले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धि जानकारी दिएको छ ।
जिल्ला भलिबल संघले प्रदेश खेलकुद परिषद्लाई प्रतियोगिता आयोजनाका लागि सहयोग गरेको छ । पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव दिपक बहादुर सिह सहित नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतका सहभागी भएका छन् ।
तीन विभागीय सहित सातै प्रदेशका गरी १० टीम प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगितामा सबै टिमबाट १ सय ५० खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ५० जना निर्णायक स्वयंसेवक रहनेछन् । सबै टिमको यातायात, बास लगायतको सुविधा प्रदेश खेलकुद परिषदले गर्ने गरी ८० लाख बजेट विनियोजन गरेको प्रदेश परिषदका सदस्य दीपक सिंहले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई चार लाख, द्वितीय टिमलाई दुई लाख र तृतीय हुने टिमलाई नगद १ लाख सहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । सान्त्वनाका लागि चौथो हुने टिमलाई समेत ५० हजार नगद प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा सेमिफाइनल देखि चार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट ६ विधामा १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
भलिबल संघका जिल्ला अध्यक्ष श्याम सिह मौनीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा भलिबका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्टले सुदूरपश्चिम प्रदेश भलिबलको उर्वर भूमि भएको र प्रतियोगिताले अझै भलिबलको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।