

गोमती पाल
महेन्द्रनगर । कबर्ड हलमा भीमदत्त नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले प्रतियोगिता उद्घाटन गरे । उनले खेलूदबाट राष्ट्रका लागि दक्ष र अनुशासित जनशक्ति उत्पादन हुने भएकाले खेलकूद महत्वपूर्ण भएको उल्लेख गरे ।
सामुदायिक र संस्थागत गरी ४८ विद्यालय सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले मार्चपास र विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय प्रकाश रावल र मधु भारती सहित जनप्रतिनिधि, सुरक्षा नियकाका प्रमुख, खेलाडी, प्रशिक्षक विद्यार्थी लगायतका सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको अध्यक्षमा उद्घाटन कार्यक्रम गरिएको छ । उद्घाटनपछि कबड्डी, भलिबल र एथ्लेटिक्सका खेल सुरु भएको नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलले प्रदेश सरकारले खेलकूद क्षेत्रका विभिन्न अवरोध हटाउँदै खेल र खेलाडीलाई व्यवस्थित रुपमा अघि बढाउने कार्य गरिएको उल्लेख गदै आफू मन्त्री हँुदा कबर्ड हल, व्यायाम शाला लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य भारतीले महेन्द्रनगरमा खेल खेलेर डम्बर दत्त भट्ट लगायतले अन्र्तराष्ट्रिय जगतमा देशको नाम चिनाएको उल्लेख गर्दै सबै विद्यार्थीले खेलबाट देशलाई चिनाउने लक्ष्य लिएर अघि बढ्नु पर्नेमा जोड दिइन् ।
भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्दले महेन्द्रनगरमा लामो समयपछि कबड्डीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको उल्लेख गर्दै यसले खेल क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बम, बैजनाथ माध्यमिक विद्यालयका प्रधााध्यापक हरिराज विष्ट, सत्यवादी माध्यमिक विद्यालय व्वस्थापन समितिका अध्यक्ष रमेश दयाल, एन प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द लगायतले शुभ कामना मन्तव्य राखे ।
उद्घाटन समारोह समापन गर्दै भीमदत्तका मेयर बोगटीले नगर क्षेत्रको खेलकूद व्यवस्थित गर्नका लागि सरकारी तथा गैर सरकारी क्षेत्रसित सहकार्य गरिने बताए ।


भीमदत्तको सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्टले कार्यक्रममा स्वागत मन्तव्य राखे । भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख कलावति मिश्र भट्ट र शिक्षक पुष्पमणी जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
उदघाटन समारोहमा मार्चपासमा पहिलो, दोस्रो र तेस्रो भएका विद्यालयको नाम घोषणा गरिएको छ । मार्च पासमा भीमदत्त नगरपालिका ७ हल्दुखालको महाकाली जनसेवा मावि प्रथम, होली फेमली इङ्गशिल मिडियम स्कुल तिल्केनी द्वितीय र वेष्टर्न पब्लिक एकेडेमी तेस्रो भएको छ ।
सेना, प्रहरी र सशस्त्र प्रहरीको चार सदस्यीय टीमले मार्च पासको मूल्याङ्कन गरेको थियो । मार्चपासमा छनौट विद्यालयलाई समापनमा नगद सहित पुरस्कार वितरण गरिने नगर खेलकूद समितिका अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ५४ कास्य पदका लागि विद्यालयहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट हुने छन् । गत वर्ष भीमदत्तले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जितेको थियो ।
भीमदत्तले यस अघि दुई पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जितेको छ । यस पटक पनि जिल्ला स्तरीय प्रतियोगिता जित्ने गरी नगर स्तरीय खेलकूद प्रतियोगितामा खेलाडी छनौट हुने आशा गरिएको अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने भएका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दोको खेल हुने छन् । तेक्वान्दो र कराँतेका ६÷६ इभेन्टस समावेश गरिएको छ ।
तेक्वान्दो र कराँते यस वर्ष पहिलो पटक राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गरिएका हुन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगर खेलकूद समितिका अध्यक्ष चन्दको संयोजकत्वमा १५ सदस्यीय व्यवस्थापन तथा निर्देशन समिति गठन गरिएको छ ।
राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नारा सहित सुरु नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी विद्यालयका दुई हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
