


जगन्नाथ आत्रेय
साहित्य समाजको दर्पण मात्र नभई समाजलाई हेर्ने आलोचनात्मक दृष्टि पनि हो । साहित्यकारले आफू बाँचेको समय, समाज, परिवेश, मानवीय सम्बन्ध र जीवनका अन्तर्विरोधलाई सिर्जनाका माध्यमबाट अभिव्यक्त गर्छ । लघुकथा सीमित आयामभित्र जीवनको कुनै विशिष्ट घटना, अनुभूति वा सामाजिक यथार्थलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने सशक्त आख्यान विधा हो ।
यसै सन्दर्भमा लक्ष्मीप्रसाद पौडेलद्वारा लिखित प्रश्नोत्तर लघुकथासङ्ग्रहलाई समकालीन नेपाली समाजका विविध यथार्थसँग साक्षात्कार गराउने कृतिका रूपमा लिन सकिन्छ । भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंद्वारा २०८३ भदौमा प्रकाशित यस सङ्ग्रहमा ५७ वटा लघुकथा समाविष्ट छन् । सामाजिक विसङ्गति, राजनीतिक विडम्बना, गरिबी, श्रमशोषण, मानवीय सम्बन्ध, नारीजीवन, शिक्षा, संस्कार, संस्कृति, अन्धविश्वास तथा बदलिँदो जीवनमूल्य यसका प्रमुख कथ्य बनेका छन् ।
प्रस्तुत अध्ययन वर्णनात्मक, विश्लेषणात्मक तथा समीक्षात्मक विधिमा आधारित छ । कृतिको बाह्य स्वरूप, विषयवस्तु, कथाकारको लेखनप्रवृत्ति, भावपक्ष, कलापक्ष, भाषा–शैली, संरचना, प्रतीक, बिम्ब, व्यङ्ग्य, द्वन्द्व, आदर्श, उपलब्धि तथा सुधारका सम्भावनाको अध्ययन गरिएको छ । अध्ययनबाट प्रश्नोत्तर सामाजिक यथार्थवादी, व्यङ्ग्यप्रधान, जनजीवनमुखी, प्रश्नमूलक तथा मूल्यचेतनायुक्त लघुकथासङ्ग्रहका रूपमा स्थापित हुने निष्कर्ष प्राप्त हुन्छ । कथाकारको प्रमुख शक्ति सामान्य घटनाभित्र व्यापक सामाजिक अर्थ खोज्नु, छोटो संरचनामा तीव्र प्रभाव सिर्जना गर्नु तथा पाठकलाई सामाजिक यथार्थप्रति प्रश्नशील बनाउनु हो । यद्यपि कथात्मकता, मनोवैज्ञानिक गहिराइ, व्यङ्ग्यको सूक्ष्मता, अन्त्यविधानको विविधता तथा भाषिक परिष्कारका क्षेत्रमा थप सम्भावना देखिन्छ । मुख्य शब्दहरू: लघुकथा, सामाजिक यथार्थ, व्यङ्ग्य, प्रश्नमूलकता, प्रगतिशीलता, मानवतावाद, प्रश्नोत्तर ।
विषय प्रवेश
साहित्य समाजको दर्पण मात्र होइन, समाजलाई हेर्ने आलोचनात्मक दृष्टि पनि हो । साहित्यकारले आफू बाँचेको समय, समाज, परिवेश, मानवीय सम्बन्ध र जीवनका अन्तर्विरोधलाई सिर्जनाका माध्यमबाट अभिव्यक्त गर्छ । लघुकथा भने सीमित आयामभित्र जीवनको कुनै विशिष्ट घटना, अनुभूति वा सामाजिक यथार्थलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने सशक्त आख्यान विधा हो ।
यसै सन्दर्भमा लक्ष्मीप्रसाद पौडेलद्वारा लिखित प्रश्नोत्तर लघुकथा सङ्ग्रहलाई समकालीन नेपाली समाजका विविध यथार्थसँग साक्षात्कार गराउने कृतिका रूपमा लिन सकिन्छ । सङ्ग्रहमा समाविष्ट ५७ वटा लघुकथाले सामाजिक विसङ्गति, राजनीतिक विडम्बना, गरिबी, श्रमशोषण, मानवीय सम्बन्ध, नारीजीवन, शिक्षा, संस्कार, संस्कृति, अन्धविश्वास तथा बदलिँदो जीवनमूल्यका विविध पक्षलाई कथ्य बनाएका छन् । कथाकारले ठूला र असाधारण घटनाको खोजीभन्दा सामान्य जनजीवनमा घटिरहेका साना घटनाभित्र लुकेको ठूलो सामाजिक सत्यलाई पहिचान गर्ने प्रयत्न गरेका छन् । यही कारण प्रश्नोत्तरका लघुकथा पाठकका लागि घटना मात्र नभई विचार र प्रश्नका विषयसमेत बन्न पुग्छन् ।
अध्ययनको उद्देश्य
प्रस्तुत अध्ययनका प्रमुख उद्देश्य निम्न छन् ।
1. प्रश्नोत्तर लघुकथा सङ्ग्रहको बाह्य स्वरूप, संरचना तथा प्राविधिक पक्षको मूल्याङ्कन गर्नु ।
2. कृतिमा अभिव्यक्त विषयवस्तु, सामाजिक–सांस्कृतिक चेतना तथा मूल प्रवृत्तिको पहिचान गर्नु ।
3. कथाकार लक्ष्मीप्रसाद पौडेलको लेखनप्रवृत्ति, सिर्जनात्मक विशेषता तथा भावपक्षको अध्ययन गर्नु ।
4. भाषा, शैली, शिल्प, प्रतीक, बिम्ब तथा व्यङ्ग्यचेतनाको विश्लेषण गर्नु ।
5. कृतिका उपलब्धि तथा सुधारका सम्भावनाको मूल्याङ्कन गर्दै समकालीन नेपाली लघुकथामा यसको स्थान निर्धारण गर्नु ।
अध्ययन विधि तथा सीमाङ्कन
प्रस्तुत अध्ययन मूलतः वर्णनात्मक, विश्लेषणात्मक तथा समीक्षात्मक विधिमा आधारित छ । कृतिको बाह्य संरचना, विषयसूची, लघुकथा, कथानक, पात्र, परिवेश, भाषा, शैली, प्रतीक, व्यङ्ग्य तथा सन्देशका आधारमा अध्ययन गरिएको छ । सङ्ग्रहका सबै कथालाई समान विस्तारमा प्रस्तुत गर्नुको सट्टा प्रतिनिधिमूलक कथाहरूलाई आधार बनाएर कृतिको समग्र प्रवृत्ति पहिल्याउने प्रयत्न गरिएको छ । समीक्षामा समीक्षकको पाठकीय दृष्टि तथा समकालीन सामान्य समीक्षात्मक ढाँचालाई आधार बनाइएको छ । प्रत्येक कथाको विस्तृत विश्लेषण गर्दा अध्ययन अत्यधिक विस्तृत हुने भएकाले कथाहरूले सम्बोधन गरेका प्रमुख क्षेत्रगत आधारलाई प्राथमिकता दिइएको छ । विश्लेषणात्मक पुष्टिका लागि प्रत्यक्ष उद्धरणको प्रयोगसमेत सीमित गरिएको छ ।
कृतिको बाह्य पक्ष
# भौतिक स्वरूप
प्रश्नोत्तर करिब २१ × १४ सेन्टिमिटर आकारमा प्रकाशित मध्यम आकारको पुस्तक हो । हातमा लिएर पढ्न सहज हुने यसको आकार लघुकथाजस्तो छोटो विधाका लागि उपयुक्त देखिन्छ । प्रयोग गरिएको कागज गुणस्तरीय र अक्षर छपाइ स्पष्ट छ । कृतिको कुल पृष्ठसङ्ख्या ८० पृष्ठ लघुकथाका लागि प्रयोग भएका छन् । बाँकी पृष्ठमा भूमिका, विषयसूची, लेखक परिचय, शुभकामना तथा अन्य प्रकाशकीय सामग्री समेटिएका छन् । सङ्ग्रहमा डा. पुष्करराज भट्टको समीक्षामूलक भूमिका तथा रामचन्द्र नेपालको शुभकामना समावेश गरिएको छ ।
#आवरण कला
कृतिको आवरण यसको आकर्षक पक्षमध्ये एक हो । विशाल रुखको पृष्ठभूमि, त्यससँग संयोजन गरिएको नारी आकृति तथा प्रश्नचिह्नको प्रतीकात्मक संरचनाले कृतिको शीर्षकसँग अर्थपूर्ण सम्बन्ध स्थापित गरेको छ। प्रश्नचिह्नभित्र रहेको ताल्चाको प्वाल तथा पुस्तकको प्रतीकले ज्ञान, जिज्ञासा, रहस्य र उत्तरको खोजीलाई सङ्केत गर्छ । यस दृष्टिले आवरण केवल सजावटी सामग्री नभई कृतिको अन्तर्वस्तुको सांकेतिक परिचयसमेत बनेको छ । झल्किँदा अमूर्त जस्तो देखिए पनि आवरण चित्र बहुअर्थी र बहुआयामिक देखिन्छ। यद्यपि आवरण कलाकारको परिचय स्पष्ट रूपमा प्रस्तुत नगरिएको देखिन्छ ।
# नामकरण
प्रश्नोत्तर नाम सङ्ग्रहका लागि सार्थक र प्रतीकात्मक छ । लेखकका अनुसार यो नाम सङ्ग्रहभित्रकै प्रश्नोत्तर शीर्षकको लघुकथाबाट लिइएको हो। तर शीर्षकको अर्थ एउटा कथामा मात्र सीमित छैन । सङ्ग्रहका धेरै कथाले पाठकसामु सामाजिक प्रश्न खडा गर्छन् र ती प्रश्नको उत्तर पाठकले आफैँ खोज्नुपर्ने अवस्था सिर्जना गर्छन् । यस अर्थमा प्रश्नोत्तर शीर्षक कृतिको संरचनात्मक र वैचारिक दुवै पहिचान बनेको छ ।
विषयवस्तुको विश्लेषण
# सामाजिक यथार्थ
छुवाछुत, शोषण, भिन्नता, हिंसा, चोर र घुस आदि कथाले समाजमा व्याप्त विकृति र विसङ्गतिप्रतिको कथाकारको सजग दृष्टिलाई देखाउँछन् । सामाजिक संरचनाभित्र रहेका विभेद, अन्याय, हिंसा र स्वार्थलाई कथाकारले सामान्य जीवनका घटनामार्फत प्रस्तुत गरेका छन् ।
# राजनीति र सत्ता
मन्त्रीज्यूको भाषण, दल र दलहरू, कुन दलको?, कमाई, घुस तथा विज्ञापन आदि कथामा राजनीतिक जीवनका विडम्बना, सत्ता–स्वार्थ र जनतालाई उपयोग गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । राजनीतिक आदर्श र व्यवहारबीचको दूरी कथाकारको आलोचनात्मक दृष्टिको प्रमुख विषय बनेको छ ।
# गरिबी, भोक र श्रमशोषण
भोक, मासु/भात, कामको खोजीमा तथा शोषण जस्ता कथाले आर्थिक अभाव, श्रमजीवी जीवन र सामाजिक असमानताको यथार्थलाई अभिव्यक्त गरेका छन्। आर्थिक विवशताले मानिसलाई निर्णयका कठिन परिस्थितिमा पुर्याउने अवस्था यी कथाहरूको महत्त्वपूर्ण पक्ष हो।
# नारी जीवन
नारीको कर्म, कान्छी तथा दिदी जस्ता कथाले नारीजीवन, पारिवारिक सम्बन्ध र सामाजिक अपेक्षाका प्रश्नलाई कथाको विषय बनाएका छन्। विशेषतः महिलामाथिको दोहोरो श्रम, पितृसत्तात्मक सोच र सामाजिक भूमिकाका असमान अपेक्षाप्रति कथाकार आलोचनात्मक देखिन्छन् ।
# संस्कृति र परम्परा
पर्वको मर्म, आशीर्वाद, नाच, धरोहर, सुकुटी तथा बलिको बोका आदि कथाले नेपाली सांस्कृतिक तथा परम्परागत जीवनप्रतिको कथाकारको सरोकार देखाउँछन् । परम्पराको सकारात्मक मानवीय पक्ष र त्यसमा देखिन सक्ने विकृतिबीचको सम्बन्धलाई समेत कथाकारले प्रश्न गरेका छन् ।
लघुकथाका विशेषता र सैद्धान्तिक आधार
# यथार्थवाद र प्रगतिशीलता
कथाहरू नेपाली समाजको जीवन्त धरातलमा उभिएका छन् । सामाजिक परिवर्तनको चाहना, श्रमजीवी वर्गप्रतिको सहानुभूति र विसङ्गतिप्रतिको आलोचनात्मक दृष्टिले कृतिमा यथार्थवादी तथा प्रगतिशील चेतनाको उपस्थिति देखाउँछ ।
# व्यङ्ग्य र सन्देशपरकता
समाज तथा राजनीतिमा देखिएका विकृति, विसङ्गति र अनैतिकतामाथि तिखो व्यङ्ग्य गर्नु कृतिको महत्त्वपूर्ण विशेषता हो । कथाकारले प्रत्यक्ष उपदेशभन्दा घटना, संवाद र विडम्बनाका माध्यमबाट पाठकलाई सोच्न प्रेरित गर्ने प्रयत्न गरेका छन् ।
# मानवतावादी दृष्टिकोण
गरिबी, आर्थिक विपन्नता, श्रमशोषण तथा सामाजिक विभेदका बीच रहेका सीमान्तकृत पात्रहरूको मानवीय संवेदनालाई कृतिले महत्त्व दिएको छ । महिला, श्रमिक, गरिब तथा असहाय पात्रप्रतिको सहानुभूति कृतिको मानवतावादी आधार हो ।
# नारीवादी चेतना
छाउघर तथा नारीको कर्म जस्ता कथामा पितृसत्तात्मक संरचनामाथि प्रश्न उठाइएको छ । परम्परा, सामाजिक अपेक्षा तथा कार्यक्षेत्रका नाममा महिलाको श्रम, स्वतन्त्रता र पहिचानमाथि हुने दबाबलाई कथाकारले आलोचनात्मक रूपमा प्रस्तुत गरेका छन् ।
# बजारवाद र उपभोक्तावादी चेतना
कालेको खसी तथा पर्वको मर्म जस्ता कथामा चाडपर्व, सामाजिक प्रतिष्ठा तथा उपभोगबीचको सम्बन्धलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको देखिन्छ । परम्परागत सांस्कृतिक मूल्यमा बजारवादी मानसिकताको प्रभावसमेत कथाकारको सरोकार बनेको छ ।
# पूर्वीय मूल्य र अन्धविश्वासबीचको द्वन्द्व
छुचुन्द्रो जस्ता कथामा परम्परागत विश्वास र व्यावहारिक विवेकबीचको द्वन्द्व देखिन्छ। यसले अन्धविश्वासभन्दा तर्क, विवेक र वैज्ञानिक चेतनालाई प्राथमिकता दिनुपर्ने सन्देश दिन्छ ।
संरचनागत स्थिति
# सङ्क्षिप्तता र गतिशीलता लघुकथाको मूल स्वभावअनुरूप कथाहरूमा अनावश्यक विस्तार र पृष्ठभूमिको भीडभाड छैन । कथाको आरम्भ छिटो हुन्छ, घटना तीव्र गतिमा अघि बढ्छन् र सीमित शब्दमा व्यापक अर्थ सम्प्रेषण गर्ने प्रयत्न गरिएको छ ।
# चोटिला संवाद
कतिपय कथामा छोटा तथा प्रहारात्मक संवादले कथाको संरचनालाई अगाडि बढाएका छन् । कथाले मागेपछि, हिंसा तथा तातेको चिसो जस्ता कथामा संवादको प्रयोग उल्लेखनीय देखिन्छ ।
# कौतुहलता र अन्त्यप्रभाव धेरै कथाको संरचनागत शक्ति अन्त्यमा केन्द्रित छ । कथाको आरम्भदेखि पाठकमा कौतुहलता सिर्जना गर्दै अन्तिम वाक्य वा घटनामा नयाँ अर्थ उद्घाटित गर्ने प्रविधि अपनाइएको छ । यसले लघुकथाको प्रभावलाई सघन बनाएको छ ।
#लघुकथामा द्वन्द्व
कृतिमा आर्थिक, नैतिक, राजनीतिक, वैचारिक, पारिवारिक तथा सांस्कृतिक द्वन्द्वका विविध रूप देखिन्छन् । आर्थिक अभाव र नैतिक आदर्शबीचको संघर्ष, राजनीतिक आदर्श र व्यवहारबीचको दूरी, परम्परागत मूल्य र आधुनिक भोगवादी प्रवृत्तिबीचको द्वन्द्व तथा पितृसत्तात्मक सोच र नारी स्वतन्त्रताको चाहनाबीचको संघर्ष प्रमुख छन् ।
# लघुकथाका आदर्श
कथाकारले सामाजिक न्याय, समानता, मानवीयता, इमानदारिता, राष्ट्रप्रेम, उत्तरदायित्व तथा सामाजिक रूपान्तरणलाई आदर्शका रूपमा अघि सारेका छन् । जातीय विभेद, नारी उत्पीडन, सामाजिक कुप्रथा तथा अन्यायको अन्त्य र समानतामूलक समाजको निर्माण कृतिको अन्तर्निहित आकाङ्क्षा हो । प्रतिनिधिमूलक लघुकथाहरूको तुलनात्मक अध्ययन सङ्ग्रहमा रहेका प्रश्नचिन्ह, भोलिको प्रश्न तथा प्रश्नोत्तर शीर्षकका तीन कथाले ‘प्रश्न’लाई नै सिर्जनात्मक संरचनाको आधार बनाएका छन् ।
#प्रश्नचिन्ह
यो कथाले नारी दिवसको सार्वजनिक उत्सव र घरभित्र महिलाले भोगिरहेको दोहोरो श्रमबीचको विरोधाभास देखाउँछ। नारी दिवसका दिन पनि मुख्य पात्र शीलाले घरका सदस्यहरूको आवश्यकता पूरा गर्न विश्रामविहीन श्रम गर्नुपर्नु विडम्बनापूर्ण सामाजिक यथार्थ हो ।
#भोलिको प्रश्न
यो कथा युवा पलायन, बेरोजगारी र भविष्यप्रतिको अनिश्चिततासँग सम्बन्धित छ । सरदार बा पात्रमार्फत युवाहरूको विदेश पलायन तथा त्यसबाट घरमा एक्लिएका अभिभावकले भोग्ने मानसिक पीडालाई प्रस्तुत गरिएको छ । वर्तमानको समस्या भोलिको प्रश्नमा रूपान्तरित हुनु यसको वैचारिक विशेषता हो ।
# प्रश्नोत्तर
यस कथामा गरिबी, बालश्रम तथा सामाजिक असुरक्षाको गम्भीर पक्ष उठाइएको छ । घरेलु श्रमिकका रूपमा काम गर्ने डल्लीजस्ती बालिकाको जीवनमा रहेको असुरक्षा र सामाजिक संरचनाले सिर्जना गर्ने कठिन अवस्थालाई कथाले कारुणिक रूपमा प्रस्तुत गरेको छ ।
# तुलनात्मक निष्कर्ष
#तीनै कथाको अन्तर्यमा सामाजिक रूपान्तरणको आकाङ्क्षा छ। प्रश्नचिन्हले लैङ्गिक विभेद, भोलिको प्रश्नले आर्थिक तथा शैक्षिक सङ्कट र प्रश्नोत्तरले भुइँतहका असहाय वर्गको सामाजिक सुरक्षाको प्रश्न उठाउँछन् । आकारमा संक्षिप्त भए पनि यी कथाहरू सन्देश र सामाजिक अर्थका दृष्टिले सघन छन् ।
कथाकारको लेखन प्रवृत्ति
# सामाजिक यथार्थवादी प्रवृत्ति कथाकारले सामान्य नेपाली समाजबाट कथाका विषय टिपेका छन् । गरिबी, श्रम, परिवार, राजनीति, शिक्षा, विभेद, संस्कृति र दैनिक जीवन उनका कथाका प्रमुख स्रोत बनेका छन् ।
# व्यङ्ग्यात्मक प्रवृत्ति
व्यङ्ग्य उनको लेखनको प्रबल विशेषता हो । सामाजिक विरोधाभासलाई सिधै उपदेश दिनुभन्दा विडम्बनापूर्ण घटना र संवादमार्फत उजागर गरिएको छ।
# प्रश्नमूलक तथा आलोचनात्मक प्रवृत्ति प्रश्नोत्तर शीर्षकले नै कथाकारको प्रश्नशील चेतना प्रकट गर्छ । सामाजिक यथार्थलाई जस्ताको तस्तै स्वीकार नगरी त्यसका अन्तर्विरोधमाथि प्रश्न गर्नु उनको कथनप्रवृत्ति हो ।
# जनपक्षीय प्रवृत्ति
कथाकारको सहानुभूति सामान्य नागरिक, श्रमिक, गरिब तथा शोषित वर्गतर्फ देखिन्छ । यस अर्थमा उनका कथा जनपक्षीय चेतनाबाट निर्देशित छन् ।
# नैतिक तथा मूल्य चेतनाको प्रवृत्ति
सामाजिक विकृति देखाएर मात्र नरोकिई मानवीयता, करुणा, विवेक, समानता तथा नैतिक आचरणको आवश्यकता संकेत गर्नु उनको लेखनको अर्को विशेषता हो ।
#प्रतीकात्मक प्रवृत्ति छुचुन्द्रो, बुद्ध, बलिको बोका तथा सुनको लङ्का जस्ता शीर्षकमा वस्तु तथा घटनालाई व्यापक अर्थ दिने प्रतीकात्मक सम्भावना देखिन्छ ।
#संवाद प्रधान प्रवृत्ति लघुकथाको छोटो आयामलाई प्रभावकारी बनाउन संवादको प्रयोग गरिएको छ । कतिपय कथा संवादकै गतिमा अघि बढ्छन् र अन्तिम संवाद वा वाक्यले कथाको अर्थलाई नयाँ ढङ्गले उद्घाटित गर्छ । भावपक्ष कृतिको भावपक्षमा सामाजिक चेतना, मानवीय संवेदना, करुणा, व्यङ्ग्य, आक्रोश र सुधारको आकाङ्क्षा प्रमुख छन् । गरिब, श्रमिक र सामान्य नागरिकप्रतिको सहानुभूति तथा सामाजिक अन्याय र विसङ्गतिप्रतिको असन्तुष्टि कथाहरूमा अभिव्यक्त भएको छ । अन्धविश्वास, विभेद र स्वार्थप्रतिको आलोचना तथा मानवीय करुणा, समानता र विवेकको पक्षधरता कृतिको भावनात्मक आधार बनेको देखिन्छ ।
कलापक्ष
# कथानक
कथानकहरू छोटा, छरिता र घटना केन्द्रित छन् । लघुकथाको स्वभावअनुसार अनावश्यक विस्तार नगरी मूल घटनालाई प्राथमिकता दिइएको छ ।
# पात्र
सामान्य नागरिक, श्रमिक, कर्मचारी, दम्पती, मालिक तथा राजनीतिक पात्र उनका कथाका प्रतिनिधि पात्र हुन्। पात्रहरू नेपाली समाजको वास्तविक जीवनसँग जोडिएका छन् ।
# परिवेश
ग्रामीण तथा सहरी दुवै परिवेशको प्रयोग गरिएको छ । घर, कार्यालय, श्रमस्थल, इँटाभट्टा तथा सामाजिक परिवेश कथाका आधार बनेका छन् ।
#अन्त्यविधान
धेरै कथामा अन्तिम वाक्य वा घटनाले कथालाई नयाँ अर्थ दिने प्रयत्न गरिएको छ । लघुकथाको प्रभावकारी अन्त्यका लागि यस्तो प्रविधि उपयोगी देखिन्छ ।
# भाषा र शैली
कथाकारको भाषा सरल, सहज, बोलचालको, संवादात्मक र सम्प्रेषणीय छ । जटिल सामाजिक विषयलाई सामान्य भाषामा प्रस्तुत गर्ने प्रयास गरिएको छ। छोटा वाक्य, संवाद तथा व्यङ्ग्यात्मक अभिव्यक्तिको प्रयोगले कथालाई गतिशील बनाएको छ । कतिपय ठाउँमा प्रतीक र सङ्केतले भाषालाई बहुअर्थी बनाउने प्रयत्न गरेका छन् । सुधारका सम्भावना समालोचना प्रशंसा मात्र होइन; सिर्जनात्मक सुधारका सम्भावना औँल्याउनु पनि यसको दायित्व हो। प्रश्नोत्तरमा देखिएका सम्भावित सुधारका पक्ष निम्न छन् ।
#सन्देशभन्दा कथात्मकतालाई प्राथमिकता
केही लघुकथामा सामाजिक सन्देश अत्यन्त स्पष्ट रूपमा प्रस्तुत हुँदा पाठकले आफैँ अर्थ निकाल्ने ठाउँ साँघुरिन सक्छ। भविष्यका रचनामा सन्देशलाई प्रत्यक्ष घोषणा गर्नुभन्दा घटना, पात्र र परिस्थितिबाट पाठकलाई निष्कर्ष निकाल्ने अवसर दिन सके कलात्मकता अझ बढ्न सक्छ ।
#व्यङ्ग्यलाई अझ सूक्ष्म बनाउने
व्यङ्ग्य कथाकारको शक्ति हो । तर व्यङ्ग्य अत्यधिक प्रत्यक्ष हुँदा यसको कलात्मक प्रभाव सीमित हुन सक्छ । संकेत, प्रतीक र विडम्बनाका माध्यमबाट सूक्ष्म व्यङ्ग्य विकास गर्न सके कथाहरू अझ गहिरा र दीर्घजीवी बन्न सक्छन्।
#पात्रको मनोवैज्ञानिक गहिराइ
लघुकथाको सीमित आयामका कारण पात्र परिचय छोटो हुनु स्वाभाविक भए पनि पात्रको अन्तर्द्वन्द्व, आकाङ्क्षा र मनोभावलाई सूक्ष्म सङ्केतबाट प्रस्तुत गर्न सके चरित्र अझ जीवन्त बन्न सक्छ।
#अन्त्यको विविधता प्रभावकारी अन्त्य लघुकथाको महत्त्वपूर्ण पक्ष हो। तर प्रत्येक कथालाई एउटै प्रकारको चोटिलो अन्त्यमा पुर्याउँदा शिल्पमा एकरूपता आउन सक्छ। खुला, प्रतीकात्मक, मनोवैज्ञानिक, मौन तथा अप्रत्याशित अन्त्यका विविध प्रयोगले लेखनलाई थप समृद्ध बनाउन सक्छ। #भाषिक परिष्कार भाषाको सरलता कृतिको शक्ति हो। तर सरलता र सामान्यता एउटै कुरा होइनन्। बोलचालको भाषालाई समेत कलात्मक, सटीक र अर्थगर्भित बनाउन सकिन्छ। वाक्य संरचना, शब्द छनोट, विरामचिह्न, हिज्जे तथा व्याकरणमा अन्तिम सम्पादनलाई अझ कडाइका साथ अपनाउन सके भाषिक सौन्दर्य बढ्नेछ। #स्थानीयता र मौलिकताको विस्तार स्थानीय जीवन, बोली, संस्कार, संस्कृति तथा सामाजिक व्यवहारलाई अझ गहिरोसँग कथामा समेट्न सके कथाकारको मौलिक पहिचान बलियो बन्न सक्छ। विशेषतः सुदूरपश्चिमलगायत स्थानीय जीवनका विशिष्ट अनुभवलाई व्यापक मानवीय संवेदनासँग जोड्ने सम्भावना उल्लेखनीय छ।
#शीर्षक र कथ्यबीच अन्तर्सम्बन्ध
सङ्ग्रहका धेरै शीर्षक प्रभावकारी छन् । आगामी रचनामा शीर्षकलाई कथाको बाहिरी परिचय मात्र नभई बहुअर्थी प्रतीकका रूपमा विकास गर्न सके शीर्षक स्वयं अर्थ–निर्माणको महत्त्वपूर्ण उपकरण बन्न सक्छ ।
# कृतिका प्रमुख उपलब्धि प्रश्नोत्तरका प्रमुख उपलब्धि निम्न रूपमा देखिन्छन्: • समकालीन समाजका विविध विषयलाई लघुकथामा समेट्नु । • सामाजिक तथा राजनीतिक विसङ्गतिमाथि आलोचनात्मक दृष्टि राख्नु। • श्रमिक, गरिब तथा सामान्य नागरिकलाई कथाको केन्द्रमा ल्याउनु। • सरल र संवादात्मक भाषाको प्रयोग गर्नु । • व्यङ्ग्य तथा प्रतीकमार्फत अर्थ विस्तार गर्नु। • सामान्य घटनाभित्र व्यापक सामाजिक अर्थ खोज्नु । • पाठकलाई सोच्न र प्रश्न गर्न प्रेरित गर्नु । • सामाजिक मूल्य तथा मानवीय संवेदनाको पक्षमा उभिनु । समग्र मूल्याङ्कन प्रश्नोत्तरलाई समग्रमा हेर्दा यो सामाजिक यथार्थवादी, व्यङ्ग्यप्रधान, समसामयिक, जनजीवनमुखी तथा मूल्यचेतनायुक्त लघुकथासङ्ग्रहका रूपमा स्थापित हुन्छ।
#लक्ष्मीप्रसाद पौडेलको लेखनमा समाजप्रतिको सजगता, सामान्य मानिसप्रतिको सहानुभूति, विसङ्गतिप्रतिको असन्तुष्टि तथा सुधारको आकाङ्क्षा स्पष्ट देखिन्छ । उनी घटना टिप्ने कथाकार मात्र होइनन्; घटनाभित्रको सामाजिक अर्थ खोज्ने कथाकार हुन् । उनको लेखनको प्रमुख शक्ति सरलताभित्र व्यङ्ग्य, सामान्यताभित्र सामाजिक प्रश्न र छोटो कथाभित्र व्यापक अर्थ खोज्ने प्रवृत्ति हो। साथै, कथाकारको सिर्जनात्मक सम्भावना अझ ठूलो छ । सन्देशलाई प्रत्यक्ष घोषणा नगरी कलात्मक सङ्केतमा प्रस्तुत गर्ने, पात्रको मनोवैज्ञानिक गहिराइ बढाउने, अन्त्यविधानमा विविधता ल्याउने, भाषालाई परिष्कृत गर्ने तथा स्थानीय जीवनानुभूतिको मौलिकतालाई व्यापक मानवीय अनुभूतिसँग जोड्ने दिशामा अघि बढ्न सके उनको लघुकथा लेखन अझ परिपक्व र प्रभावकारी बन्न सक्छ ।
निष्कर्ष
#लक्ष्मीप्रसाद पौडेलको प्रश्नोत्तर समकालीन नेपाली समाजका विविध प्रश्नलाई लघुकथाको सीमित आयामभित्र प्रस्तुत गर्ने महत्त्वपूर्ण प्रयास हो। यसको बाह्य पक्ष आकर्षक र व्यवस्थित छ। कलात्मक आवरण, सहज भौतिक आकार, गुणस्तरीय छपाइ, व्यवस्थित विषयसूची तथा प्रकाशकीय विवरणले #पुस्तकलाई स्तरीय बनाएका छन्। अन्तर्वस्तुतर्फ सामाजिक विकृति, राजनीतिक विडम्बना, गरिबी, श्रमशोषण, नारीजीवन, शिक्षा, संस्कृति, अन्धविश्वास तथा मानवीय सम्बन्ध यसका प्रमुख सरोकार बनेका छन्।
#कथाकारको लेखनप्रवृत्ति मूलतः सामाजिक यथार्थवादी, व्यङ्ग्यात्मक, प्रश्नमूलक, जनपक्षीय, मूल्यचेतनायुक्त तथा प्रतीकात्मक देखिन्छ। सरल र संवादात्मक भाषामा सामान्य जीवनका घटनालाई कथाको आधार बनाएर व्यापक सामाजिक अर्थ सिर्जना गर्नु उनको सिर्जनात्मक विशेषता हो । यद्यपि कथात्मकता, मनोवैज्ञानिक गहिराइ, व्यङ्ग्यको सूक्ष्मता, अन्त्यविधानको विविधता तथा भाषिक परिष्कारका क्षेत्रमा थप सिर्जनात्मक सम्भावना प्रशस्त छ ।
#अन्ततः प्रश्नोत्तर केवल ५७ वटा लघुकथाको सङ्ग्रह होइन; यो समकालीन नेपाली समाजसँग गरिएको प्रश्नमूलक साहित्यिक संवाद हो। यसका कथा पाठकलाई तयार उत्तर सुनाएर चुप लगाउँदैनन्; बरु समाज, राजनीति, सम्बन्ध, संस्कार र आफ्नै चेतनातर्फ फर्केर हेर्न बाध्य बनाउँछन् । यही प्रश्नशीलता नै कृतिको मूल शक्ति र यसको साहित्यिक महत्व हो ।
