ghar sansar

दोधारा चाँदनीबाट १० चक्के ट्रकमा मलखाद तस्करी हुँदा पनि देख्दैन सशस्त्र, महेन्द्रनगर बजार पुगेपछि मात्रै समातियो ७० बोरा मल

महेन्द्रनगर । दोधारा चाँदनीमा सशस्त्र प्रहरीका सुरक्षा पोष्ट बढेपछि झन खुलेआम तस्करी बढेको छ । तस्करहरुले पछिल्लो पटक चार पाङ्ग्रे ठूला सवारी साधन तस्करीमा प्रयोग गर्न थालेका छन् ।

भारतीसित खुला सीमा नाकाका कारण दोधारा चाँदनीलाई वर्र्षौदेखि तस्करले प्रयोग गर्दै आएका छन् । तीमध्ये अधिकाँशले सुरक्षाकर्मीसित मिलेमतो गरी तस्करी गर्दै आएका छन् ।

अहिले दोधारा चाँदनी क्षेत्रबाट रसायनिक मलखादको तस्करी ह्वात्तै बढेको छ । महाकाली नदीको चार लेन पुलमा सवारी चल्न थालेपछि तस्करहरुले ठूला सवारी तस्करीमा प्रयोग गर्न थालेका छन् । अहिलेसम्म दुई पाङ्ग्रे सवारी तस्करीमा प्रयोग हुँदै आएका छन् ।

‘तस्करी नियन्त्रणका लागि भनेर सशस्त्र प्रहरी राखिएको छ, अहिले त ६÷७ ओटा पोष्ट छन्, झन ठूला ट्रकमा तस्करी भएको छ’ एक स्थानीयले भने,‘सुरक्षाकर्मीसित मिलेमतो हुन्छ, नत्र यति ठूलो ट्रकमा तस्करीका समान राख्ने हिम्मत हुँदैन ।’

दोधारा चाँदनी नगरपालिको देवीस्थानस्थित सशस्त्र प्रहरीको बिओपी सहित आधा दर्जन सशस्त्र प्रहरीका पोष्ट छन् । देबीस्थानको पोष्टमा सशस्त्र प्रहरी निरीक्षक र अन्यमा सशस्त्र प्रहरी नायब निरीक्षकका इन्चार्ज छन् । यस अघिसम्म सशस्त्र प्रहरीको बिओपी मात्रै थियो ।

सीमा अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि दुई वर्ष अघिदेखि दोधारा चाँदनीमा सशस्त्र प्रहरीका पोष्ट राख्न थालिएका हुन् । सशस्त्र प्रहरीका ती पाष्ेट थपिएपछि तस्करी घट्न नसकेर झनै बढेको स्थानीय बताउँछन् ।

‘सशस्त्र प्रहरीको ध्यान नै कमाउनतिर छ जस्तो छ, अस्ति भारतले हाम्रै भूमिमा पोल गाड्यो, तारबार ग¥यो, केही मतलब भएन, एसएसबी दैनिक आएर धम्क्याएर जान्छन्, सशस्त्रलाई मतलब हुँदैन’ अर्का स्थानीयले भने,‘यी काम गर्दैन भने तस्करसित मिलेर कमाउने काम त गर्छन होला ।’

ती स्थानीयका अनुसार दोधारा चाँदनी क्षेत्रबाट रसायनिक मलखाद, हार्डवेयरका समान, चिनी, निर्माण सामाग्री लगायतका समान तस्करी हुँदै आएका छन् । तस्करहरुले हप्ता वा मासिक रकम दिएर सुरक्षा निकायसित मिलेमतो गर्दै आएका छन् ।

तस्करहरुले सुरक्षाकर्मीसित मिलेमतो गरी महेन्द्रनगरसम्म पुगाएर तस्करीको मलखाद बुधबार महेन्द्रनगर बजारबाट नियन्त्रण लिइएको छ । सशस्त्र प्रहरीको टोलीले सुपप्र ०१००१ ख ३००६ नम्बरको १० चक्के ट्रक सहित ७० बोरा मलखाद बरामद गरेको छ ।

ट्रकबाट मलखाद तस्करी हुँदासम्म दोधारा चाँदनीको सशस्त्र प्रहरी मौन देखिएको छ । ट्रकका चालक दिपेन्द्र सिह महरा र सह चालक भुपेन्द्र महरा पनि पक्राउ परेका छन् ।

स्थानीयका अनुसार भारतबाट तस्करी गरी ल्याएको मलखादलाई तस्करहरुले दोधारा चाँदनी क्षेत्रमा गोदाम बनाएर राखेका छन् । अहिले ती गोदामबाट मलखाद बाहिर पठाउने गरिएको छ ।

मलखाद बाहेक अन्य समान पनि दोधारा चाँदनीमा गोदाममा राखेर मात्रै पठाउने गरिएको छ । अहिले गोदाममा राखिएको मलखाद लिएर आएको ट्रक महेन्द्रनगरबाट पक्राउ गरिएको हो । दोधारा चाँदनीका ती गोदामबाट दैनिक रुपमा मलखाद महेन्द्रनगर आउने गरेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुवराज विश्वकर्माले सशस्त्र प्रहरीले अवैध रुपमा चोरी पैठारी भएको मल बराम गरेर भन्सार बुझाएको बताए । ‘दुवै मानिस, ट्रक सहित भन्सारमा छ, ‘उनले भने, ‘कुनै कागजात नभएकाले थप कार्बाही प्रक्रिया अघि बढ्छ ।’

ट्रकका चालक र सह चालकले उक्त मलबारे मुख नखुलेको प्रमुख भन्सार अधिकृतले बताए । ‘अनुसन्धानपछि मात्रै सबै थाह हुन्छ’ उनले भने

Himal dental
सम्बन्धित
Loading...